OYVS – माननीय रमेश ढकाल श्रीमानको ईजलास (श्री राजश्व न्यायधिकरणमा रहेको अवधिमा) ले धेरै विषयमा मार्ग सुधार/ परिवर्तन Course Correction गर्नु भएको छ।

करदाता/ व्यवसायीको व्यवसायिक स्वतन्त्रता र विवेक (Commercial freedom and Wisdom) लाई मध्यनजर / विश्लेषण गरी भएका फैसला ले कर विधिशास्त्र (tax jurisprudence) मा नयाँ मानक स्थापना गर्ने छन, स्वर्ण मान (gold standard) हुनेछन।

======================================‍‍=

निर्णयको स्थिरताको सिद्धान्त / doctrine of consistency – Stare decisis

========================================

न्यायालयले कुनै पनि विषयमा तथ्य प्रमाणको विश्लेषण गरी एक पटक निष्कर्षमा पुगे पछि सो निर्णय सामान्यत स्थिर रहनु पर्छ। समान तथ्य समावेश भएको एउटै विषयमा एक पटक निर्णय गरिसके पछि फेरी अर्को पटक अर्को निर्णय गर्दै गएमा यसले न्यायिक अराजकता सिर्जना गर्दछ भन्ने अभिप्राय नै निर्णयको स्थिरताको सिद्धान्त हो। तर यो निरपेक्ष रुपमा प्रयोग हुने भने होइन। OVYS भन्ने विषय एउटै भए तापनि यस सम्बन्धमा हुने खर्चका सम्बन्धमा तथ्यको फरक उपस्थिति हुन सक्दछ। तथ्यलाई हेरेर पर्याप्त कानूनी आधार सहित एउटै शीर्षक भए तापनि पृथक अवस्थामा इजलासले यस अघिको आफ्नो धारणामा परिवर्तन गर्न पनि सक्छ।

====================================

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको भोगाधिकार अन्य कसैलाई कानूनी रुपमा दिन सक्दछ। यस अवस्थामा पनि त्यस्तो स्वामित्ववालाले आफ्नो सम्पत्तिमा हुने अधिकार भने गुमाएको भन्न मिल्दैन। त्यस्तो सम्पत्तिमा हुने प्रत्येक अधिकार स्वामित्ववालामा नै रहन्छ । प्रस्तुत करदाताको सन्दर्भमा यस्तो भोगाधिकार कर्मचारीमा नभई वैङकमा नै रहेको देखिन्छ। व्यावसायिक योजनामा उल्लेख गरी निश्चित शर्त र अवस्थाको अधिनमा रही केवल प्रयोग गर्ने अधिकार (Right to use) मात्रै कर्मचारीलाई दिएको देखिन्छ ।

कर प्रशासनले जुन सवारी साधनको ह्रास कट्टी अमान्य गरेको छ, सो सवारी साधन वैंकको नाममा नै रहि रहेको अवस्थामा कर्मचारीको नाममा जाने भविष्यमुखी प्रावधान(यो पनि आफैमा शर्तयुक्त छ) लाई अहिले नै आधार वनाउनु भनेको स्वामित्वकर्ताको अधिकार सम्बन्धी मान्यता प्रतिकुल हुन्छ ।

वैंकको कार्यालय समयमा सो सवारी साधनहरु वैंकको प्रयोजनको लागि प्रयोग हुने हो, निजी लगानीका बैंकहरु विहान देखि रातिसम्म पनि जिम्मेवारीमा रहेका अधिकृत कर्मचारीहरु खटिनुपर्ने सन्दर्भमा उक्त सावरी साधनहरु वैंक प्रयोजनको लागि बाहेक अन्य प्रयोजनको लागि प्रयोग हुन सक्ने सीमित संभावना मात्र देखिन्छ । कार्यालय समय बाहेकको समय र विदाका दिनमा कर्मचारीले आफ्नो व्यक्तिगत र घरायसी प्रयोजनको लागि सवारी साधन प्रयोग गर्न सक्ने मान्यतालाई प्रवन्धले स्वीकार गरी मर्मत तथा इन्धन खर्चमा केही अंश कर्मचारीहरुलाई पनि उत्तरदायी बनाएको र सवारी साधनको उचित र सन्तुलित प्रयोगको लागि कर्मचारीहरुलाई जिम्मेवार बनाइएको पनि स्वत: वोध हुन्छ । यस अवस्थामा मूलत: वैंकको व्यवसायिक कृयाकलापमा नै प्रयोग भएका सो सवारी साधनहरु कर्मचारीको निजी प्रयोजनमा गएको भनी निष्कर्ष निकाल्नु सो योजनाको प्रवन्धसँग अनुकूल हुदैन।

सवारी साधनहरुको ह्रास, विमा तथा सवारी कर खर्च तथा मर्मत खर्च पुनरावेदन दावी बमोजिम कट्टी पाउने देखियो।

========================================

नविल बैंक लिमिटेड वि. ठूला करदाता कार्यालय